|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 11 November 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यूएईमा अलपत्र चेलीको उद्घार |
| दामोदर नेपाल, यूएई - 11/11/2006 |
|
दुवाई/यूएई, चेलीहरुसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको नेपालीहरुको दोस्रो महान् चाड तिहार सकिएको धेरै भएको छैन । तर, त्यति धेरै महत्व बोकेको चाड तिहार मै एउटी चेलीले सात समुन्द्रपारिको विरानो ठाउँमा दिनरात आँशुमा डुबेर बिताउनु परेको समाचार सुन्दा कुन नेपालीको मन नरोला ।
हो, त्यस्तै दर्दनाक घटना घटेको छ यू.ए.ई. मा पनि । कसैको पनि दुःख देख्न नसकेर सहयोगका लागि मरिमेट्ने नेपालीहरुको बानी हो भन्ने यथार्थतामा डढेलो लगाउने पनि नेपालीहरु नै छन् भन्ने कुराको प्रमाण बनेको छ यो घटना ।
गरिबीको चपेटामा परेर पिल्सिएका सोझा नेपालीहरु विभिन्न प्रलोभनमा परेर ठगिएका उदाहरणहरु अनगिन्ती छन् । तापनि एउटा अवला नारीले ठगिनु पर्दाको अवस्थाको चित्रण शब्दले गर्दा अपुरो नै हुन्छ । त्यसमा पनि स्वदेशदेखि विदेशसम्म ठगिंदाको वर्णन कसरी गर्नु ? यस्तै एउटा अन्यायमा परेर विचल्लीमा परेकी चेलीको नाम हो प्रतिमा गुरुङ (नाम परिवर्तन) । सिद्घार्थनगर-११, रुपन्देही कि बासिन्दा निज गुरुङ आर्थिक अभावका कारण आफ्नो घरायसी समस्याले गर्दा रोजगारीका लागि भौंतारिएकी थिइन् । त्यसैक्रममा उनले 'विदेश गएर काम गरे धेरै राम्रो आम्दानी हुन्छ' भन्ने दलालको कुरालाई विश्वास गरिन् र उसैको पछि लागिन् । प्रितीमान रमदान नामको दलालको प्रलोभनमा परी उसैलाई रु.एक लाख नगद बुझाएर उनी यू.ए.ई.मा काम गर्न भनि बाटो लागिन् । नेपालबाट सिधै आउन नपाउने प्रावधानका कारण भारतको बाटो गराएर निज प्रतिमा गुरुङलाई दलाल प्रितीमान रमदानले ०३ जुलाई २००६ का दिन यू.ए.ई.स्थित शारजाहमा उतारी यहाँको अर्को दलाल लक्ष्मी कार्की (राहदानीको नाम अर्कै) को जिम्मा लगायो । यहाँ आइपुगेपछि राम्रो काम लगाइदिनुको बदला दलाल लक्ष्मी कार्कीद्वारा कोठीमा लगी जबरजस्ती देह ब्यापारमा लगाउने काम गरियो । जब उनले यो षड्यन्त्र थाहा पाइन तब उनी छाँगाबाट खसे सरी भइन् ।
रोइन्, कराइन्, चिच्याइन् तर यो बिरानो ठाउँमा उनको पुकारा सुनिदिने को थियो र । बरु उनको कलकलाउँदो जबानीको पसल थापेर आफ्नो स्वार्थ पूर्ति गर्ने ब्वाँसाहरुको पञ्जाभित्र थिइन उनी । जति नै छटपटिए पनि र जति नै संघर्ष गरे पनि उनी एक्लैको केही लाग्ने थिएन । तसर्थ रात दिन अश्रु सागरमा डुब्दै आफ्नै आँशु पिएर त्यो नरकबाट छुटकारा पाउने उपाय खोज्दै संघर्ष गर्दै रहिन् । बल्लबल्ल उनी त्यहाँबाट भाग्न सफल बनिन् तर त्यसबेला उनको साथमा न त राहदानी थियो न त पैसा नै । केबल सिङ्गो शरीर लिएर उनी निस्कीएकी थिइन् । त्यसपछि उनले घर फर्कनको लागि सहयोगको याचना गर्दै यहाँ अवस्थित विभिन्न नेपाली संघ-संस्थाहरुको शरणमा पुगिन् । यू.ए.ई. को कडा कानूनले गर्दा उनको उद्घारमा ती संघ-संस्थाहरुले पनि केही गर्न सकेनन् र अन्त्यमा उनी भौंतारिंदै नेपाली समाज यू.ए.ई.को सम्पर्कमा आइपुगिन् । त्यतिबेला उनी निकै थाकिसकेकी थिइन् । नथाकुन् पनि कसरी । विदेश गएर राम्रो आम्दानी गरी घर फर्कौला भन्ने ईच्छा र आकांक्ष बोकेर विदेसिएकी उनी अनायास दलालहरुको फन्दामा फसेर कोठीमा पुग्दा विचलित त हुने नै भइन् । साथै त्यहाँबाट उम्केर बाहिर आई घर जान्छु भनेर विभिन्न संघ संस्था चाहार्दा पनि समयमा घर जान नपाउँदा उनको मन थाक्नु स्वभाविकै हो ।
नेपाली समाज यू.ए.ई. सन् १९९० मा स्थापना भई हालसम्म अविच्छिन्न रुपमा यहाँ स्थित नेपालीहरुका माझ सक्रिय रहँदै आएको कुरा छर्लङ्ग छ । साथै यसले आफ्नो स्थापनाकालदेखि नै नेपालीहरुको दुःख र मर्कामा सहयोग पु-याउँदै आएको कुरा सबैलाई विदितै छ । कुनै पनि नेपालीको समस्यासँग एकाकार हुनु नेपालीसमाज यु.ए.ई. को विशेषता नै हो र उद्देश्य पनि । त्यसैले समस्या परेकी चेली प्रतिमा गुरुङलाई उद्धार गरी नेपाल पठाउन आफ्नो जिम्मेवारी ठानी यो समाजले यहाँस्थित प्रहरी, प्रशासन, अध्यागमन, नेपाली दुतावास लगायत सम्पूर्ण कार्यालयमा धाएर आवश्यक प्रक्रिया पुरा गर्यो । अन्त्यमा सहयोग स्वरुप केहि आर्थिक संकलन गरी उनलाई दिएर ०९ नोभेम्वर २००६ का दिन एयर अरेबियाको उडानद्धारा शारजाहबाट नेपाल पठाइएको छ ।
यसरी आज दलालद्धारा ठगिएर यू.ए.ई.मा अलपत्र परेकी एउटी चेलीको उद्धार गरी उनलाई घर फर्काउन नेपाली समाज यू.ए.ईं सफल भएको छ । आशा छ भविष्यमा नेपाली चेलीहरुले यस्तो दुःख पाउनु पर्ने छैन । तर ती दलालहरु जसले अनगिन्ती चेलीहरुको जीवनमाथि खेलवाड गरेका छन् उनीहरुलाई कानुनको कठघरामा पुर्याउनु पनि हाम्रो दायित्व हुन आउछ । प्रितीमान रमादान जस्ता दलालहरु अझै पनि नेपालका हरेक गाउँ र गल्लीहरुमा डुलेर सोझा नेपालीहरुलाई ठगिरहेका हुन सक्छन् तसर्थ यस्ता दलालहरुलाई पक्रिएर कडा भन्दा कडा कार्वाही गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौ । साथै प्रत्येक नेपालीलाई दलालहरुको प्रलोभनमा नपर्न र भारतको बाटो भएर विदेशीने काम बन्द गर्न अनुरोध गर्दछौ । त्यस्तै लक्ष्मी कार्की जस्ता दलालहरु यू.ए.ईमा पनि सक्रिय रुपमा रहेको देखिन्छ । तसर्थ त्यस्ता दलालहरुको क्रियाकलापहरुको सुक्ष्म अध्ययन गरी तथ्य र प्रमाण जुटाएर हामीलाई बुझाउन यू.ए.ई. बासी नेपालीहरुमा अनुरोध गर्दै नेपालीहरुको समस्यामा नेपाली समाज यू.ए.ई. सदैव साथ रहने छ भन्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछौ ।
नोटः समाचारदाता दामोदर नेपाल नेपाली समाज यूएईका सम्बाद सचिव हुनुहुन्छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |