|
काठमाडौं, पुस
२८ - सरकारले एक वर्षदेखि मलेसियाको जेलमा रहेका ८ नेपालीको उद्धार गरेको छ ।
श्रम तथा रोजगार प्रवर्द्धन विभागको पहलमा मलेसियास्थित नेपाली दूतावास र
मलेसियाली अध्यागमन विभागको सहयोगमा पीडित कामदार शुक्रबार काठमाडौं आएका छन् ।
विभागको पहलमा पीडित कामदारलाई उद्धार गरिएको सम्भवतः यो पहिलो घटना हो ।
'दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउन आवश्यक सोधपुछ गरी उहाँहरू (कामदार)
लाई अभिभावकको जिम्मा लगाउदैछौं'- विभागका महानिर्देशक केशरबहादुर बानियाँले
कान्तिपुरलाई भने ।
उनीहरूलाई तोकिएको भन्दा फरक कम्पनीमा काम गरेको आरोपमा प्रहरीले पक्राउ गरेको
थियो । 'हामीलाई बिजुली बजारस्थित माउन्ट एभरेस्ट म्यानपावर कम्पनीले मलेसिया
पुर्याएको हो,'- पीडितमध्येका एक स्याङजा कोल्माका गोविन्द थापाले भने । सुरुमा
बेग्लाबेग्लै कम्पनीमा काम गर्ने उनीहरूलाई एभरेस्टका सञ्चालक इन्द्रबहादुर
थापाले डिजे सिल्क स्प्रे कम्पनीलाई बेचेका थिए । 'बेचिएको कुरा हामीलाई थाहै
भएन,' उनले भने ।
पीडितका अनुसार काठमाडौंबाट पठाउने काम इन्द्रबहादुरकी श्रीमती राधादेवी
बुढाथोकीले गरेकी थिइन् । 'इन्द्रबहादुर मलेसियामै छन्,' अर्का पीडित ओखलढुंगा
खोजी कात्तिकका मोहनबहादुर खत्रीले भने- 'प्रहरीले पक्राउ गरी अदालती कारबाही
चलाउँदा उसले हामीलाई चिन्दिन भन्यो ।' उनका अनुसार इन्द्रबहादुरलाई पनि
मलेसियाली प्रहरीले पक्राउ गरी २० दिन थुनामा राखेको थियो । 'तर उसले कानुनी
लडाइ“ लडेर उम्कियो,' उनले भने ।
थुनामै रहँदा पीडित कामदारलाई इन्द्रबहादुरले खाली कागजमा जबरजस्ती सही गराएको
थियो । उक्त कागजमा लेखिएको बेहोराकै आधारमा इन्द्रबहादुर छुटेको शंका पीडितले
गरेका छन् । 'उसले मलेसिया मेरो हो भन्दै कागजमा सही नगरे ज्यान लिने धम्की दिने
गथ्र्यो,'- खत्रीले भने ।
पीडितमध्ये केहीलाई बुढाथोकीले नक्कली पासपोर्टमा, केहिलाई अर्कैको पासपोर्टमा
र धेरैलाई काम गर्ने कम्पनी, कामको विवरण, तलब आदि खुलाएको सम्झौतापत्रमा
हस्ताक्षर नगरी पठाएकी थिइन् । 'मलाई २ वर्षका लागि भनेर पठाएको थियो तर भिसा
एक वर्षको मात्र लागेको रहेछ,' लमजुङ करपुका विजयकुमार गुरुङले भने । थुनामा
बस्दा यातना दिएको उनीहरूले बताए । उनीहरूलाई प्रहरीले अनाहकमा पिट्ने, कसैसँग
बोल्न नदिने, पेटभरि खान नदिने, चिसो भुईमा सुताउने गरेका थिए । 'हामीलाई क्रूर
अपराधीसँगै राखिएको थियो,' खत्रीले भने । 'उनीहरू पनि हामीलाई धम्क्याउने,
पिट्ने गर्थे ।'
सरकारले तोकेभन्दा बढी रकम असुलेर कम्पनीले कामदारलाई मलेसिया पुर्याएको पनि
खुल्न आएको छ । उसले कामदारलाइ भनेको काममा पनि लगाएको थिएन । गोविन्दले पानी
जहाजमा काम गर्ने भनेर १ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । 'सम्झौतापत्रमा
उसैले सही गरेको रहेछ,' गोविन्दले भने- 'मलेसिया गएर काम गर्न पाइएन, ऋणमात्रै
थपियो ।'
एभरेस्टका सञ्चालकमध्ये एक रमेश गुरुङलाई भने प्रहरीले पक्राउ गरी थुनामा राखेको
छ । पक्राउ पुर्जी जारी भए पनि राधादेवी फरार छन् ।
एभरेस्टबाटै गएका थप ५ जनासहित थुनामा रहेका १० कामदारलाई उद्धार पहल भइरहेको
जानकारी विभागका अधिकारीले दिए । काममा पठाउनुअघि र पठाइसकेपछि पनि कामदारको
निरन्तर रेखदेख गर्नसके ठगीका घटना कम हुने विभागका महानिर्देशकले बताए । 'यसका
लागि विभागको क्षमता पनि बढाउनुपर्छ,' उनले भने ।
पीडितको उद्धार खर्च कम्पनीको धरौटीबाट कटाएर गरिएको विभागका अधिकारीले जानकारी
दिए ।
|