nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 26 March 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यूएईको दूतावास स्तरोन्नति गर्न सुझाव

नेपाल समाचारपत्र - 26/03/2007

लेखनाथ अधिकारी, (अबुधाबी, युएई)। खाडी मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो देशमा भएको नेपाली दूतावास नेपाल सरकारले स्तरोन्नति गरिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरेको छ।

 

यूएईको विदेश मन्त्रालयले यहाँस्थित नेपाली दूतावासका अधिकारीमार्फ सो प्रस्ताव गरेको हो।

 

स्रोतका अनुसार आफूभन्दा ४० गुणा सानो मुलुक कतारमा नेपालले दूतावास खोलेर राजदूतस्तरकै प्रतिनिधि राखे पनि यूएईमा कार्यवाहक राजदूत मात्रै राखेकोमा असन्तोष व्यक्त गरेको हो। यूएईमा नेपालको दूतावास ११ अप्रिल २००४ मा स्थापना भएको हो।

 

यूएई सरकारले नेपाली दूतावासको स्तरोन्नति गर्नुपर्यो भनेको सम्बन्धमा जिज्ञासा राख्दा यहाँस्थित कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठले यूएई सरकारको चाहना त्यस्तो हुन सक्ने भए पनि आफूले राम्रै ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो।

 

राजदूत नियुक्त गरिएको देशलाई बढी महत्त्व र कार्यवाहकले काम चलाइरहेको अवस्थालाई कम महत्त्व दिएको हो कि भन्ने अनुमान कूटनीतिक क्षेत्रमा गर्ने गरिन्छ।

 

हाल नेपालको यूएईबाहेक मलेसियामा समेत कार्यवाहक राजदूत स्तरको प्रतिनिधित्व रहेको छ। डेनमार्क, दक्षिण कोरिया र अस्ट्रेलियामा यसैपालिबाट सरकारले दूतावास खोल्ने निर्णय गरी कार्यवाहक राजदूत नियुक्त गर्ने काम गरिसकेको छ।

 

यूएईका हकमा दूतावासको स्तरोन्नतिका लागि थप कर्मचारीसमेत आवश्यक परेको यहाँ रहेका नेपाली नागरिकले नै महसुस गरिरहेका छन्। नेपाली समाज यूएईका अध्यक्ष रामेश्वर शाहले भन्नुभयो- 'भारतले राजधानी अबुधाबीमा दूतावास र दुबईलगायतका प्रमुख शहरमा कन्सुलरको कार्यालयसमेत खोलेको छ, त्यसैले पनि सवा लाख नेपाली भएको ठाउँमा राजदूत नै रहनुपर्छ।'

 

करिब १ लाख २० हजार नेपाली कामदार रहेको खाडीक्षेत्रको अत्यन्त वैभवशाली मुलुक यूएईको नेपाली दूतावासमा ३ कूटनीतिक कर्मचारी छन् भने ड्राइभर र रिसेप्सनिस्टसमेत गरेर कुल संख्या ७ रहेको छ।

 

कर्मचारी थोरै भएको गुनासोका सम्बन्धमा कार्यवाहक राजदूत श्रेष्ठले २४ सै घण्टा खटेर भए पनि भरिसक्य गुनासो आउन नदिएको बताउनुभयो।

 

 

दूतावास किन्न सिफारिस

राजधानी अबुधाबीस्थित मन्जिल रियल स्टेटमा मासिक अढाई लाख रुपियाँ तिरेर नेपाली दूतावास सञ्चालन भइरहेकोमा दूतावासले आफ्नै भवन किन्दा सजिलो हुने बेहोरामा निर्णयका लागि सरकारलाई सिफारिस गरेको छ।

 

'मासिक रूपमा तिरिरहनुभन्दा आफ्नै भवन बनाउन पाए राम्रो हुन्छ भनेर सिफारिस गरिएको हो' -कार्यवाहक राजदूतले भन्नुभयो।

 

उहाँका अनुसार यहाँस्थित दूतावासका लागि सरकारले कुल १ करोड ७३ लाख रुपियाँ वार्षिक छुट्टयाइरहेकोमा दूतावासले पासपोर्ट नवीकरणलगायतका कामबाट ५ करोड २५ लाख रुपियाँ राजस्व उठाइरहेको छ।

 

 

पासपोर्टको कथा

नेपाली भाषा बोल्दै थुप्रै विदेशीले नेपालको पासपोर्ट लिएर जथाभाबी काम गरी अबुधाबीमा नेपालीलाई बदनाम गरेको समेत पाइएको छ।

 

विभिन्न जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयबाट समेत यस प्रकारका अनधिकृत पासपोर्ट कसरी जारी भए भन्ने गम्भीर प्रश्न पनि उठ्न पुगेको छ।

 

उता यहाँस्थित नेपाली दूतावासले अस्ति शुक्रबारदेखि यूएईका विभिन्न ठाउँमा मोबाइल टोली खटाएर पासपोर्ट नवीकरणको काम गरिदिएको छ।

 

सातवटा स्टेटमा विभाजित यूएईका विभिन्न ठाउँमा रहेका नेपालीलाई दूतावास रहेको राजधानी अबुधाबी आउन कठिन हुने कुरालाई ध्यान दिँदै मोबाइल टोली खटाइएको दूतावासले जनाएको छ।

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com