राष्ट्रिय सभाका उपाध्यक्ष माननीय श्री रामप्रित पासवानसंग नेपालकतार डट कमका संचालक शिखर बैद्यले लिनुभएको अन्तरवार्ता
माननीयज्यू, सबैभन्दा पहिला म यहाँलाई कतारमा स्वगत गर्न चाहान्छु । कतारमा अहिले सम्पन्न भईरहेको नयाँ एवं पुनःस्थापित प्रजातान्त्रिक मुलुकहरुको छैटौं अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिनलाई संसदिय दलको नेतृत्व गरेर यहाँ पाल्नुभएको छ । बैठकबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
यो बैठक नयाँ र पुनःस्थापित देशहरुको एउटा ठूलो सम्मेलन हो । यस्ले यो विश्वलाई नै एउटा नयाँ खालको सन्देश दिने छ जस्तो मलाई लागेको छ किनभन्दा अहिले प्रजातन्त्रका लागि गरिव राष्ट्रहरु अविकशित राष्ट्रहरु देखि लिएर विकशित देशहरुमा के देखिएको थियो भने प्रजातन्त्र माथि ठूलो प्रहार भईरहेको अवस्था देखिएको छ । विभिन्न देशहरुमा देखिएको हत्या हिंसा को राजनितिमा हावी हुँदै गएको अवस्था पनि रह्यो । तर यो हत्या हिंसा र आतङ्कवादबाट विश्वका जनताहरु सबै अतङ्कित त्रषित रहेको अवस्थामा र जनताहरुले यसबाट मुक्ति पाउनको लागि आ-आफ्नै ठाउँबाट आफ्नो देशहरुबाट आन्दोलन चलाएका छन् - शान्तिपूर्ण आन्दोलन अहिंसात्मक आन्दोलन - र यसले हाम्रो नेपालमा पनि भर्खरै एउटा लोकतान्त्रिक आन्दोलन भयो र यस्ले ठूलो परिवर्तन ल्याउने सम्भावना आएको छ देखिएको छ । त्यसकारणले यो हाम्रो देशको मात्र होईन की अरु देशमा पनि शान्तिका प्रकृयाहरु शुरु भएको जस्तो लाग्छ । म यहाँ दोहामा आएँ यो एउटा मुस्लिम देश हुँदा पनि मै सम्मेलन भित्रनै यहाँका महिलाहरुको सहभागिता देखे । यसबाट मलाई खुशिलाग्यो कि यहाँ पनि केही परिवर्तनहरु भएको जस्तो मैले अनुभव गरे । र यस्ले भर्खर जहाँ प्रजातन्त्र शुरु भएको छ र हाम्रो जस्तो जहाँ प्रजातन्त्र पुनःस्थापित भएको छ मलाई लाग्छ यो सम्मेलनले जहाँ १४२ राष्ट्रका प्रतिनिधिहरु गैर सरकारी संस्थाहरु तथा संसदीय समितिहरुको जुन उपस्थिति देखियो र जुन उत्साह देखियो मलाई लाग्छ यस्ले एउटा राम्रो सन्देश जाने छ ।
माननीयज्यू, कुनै पनि देशको प्रजातान्त्रिक पद्धति जनतामा लादिन नसकिने, आयातित हुन नसकिने तथा एकै प्रकारको सबै देशमा लागु पनि गर्न नसकिने सर्वमान्य सिद्धान्तको आधारमा नेपालको भावि प्रजातन्त्रिक पद्धति कस्तो देख्नुभएको छ ?
हाम्रो देशमा भर्खरै जनआन्दोलन अगाडी बढ्यो र सफलताका साथ अगाडी बढिरहेको छ र सफल भयो । नेपालको परिवेश दुई ठूला देश चिन र भारतको बिचमा रहेको भौगोलिक अवस्था पनि अलिकति अरु देशको भन्दा फरक रहेको र यो दुईटा देशको बिचमा हाम्रो नेपालको अवस्था र स्थिति छ र जसरी छिमेकी राष्ट्रहरुले पनि अहिले जुन सहयोग हामीले पाईरहेका छौ र जसरी अहिले हाम्रो वातावरण विकशित भएको छ त्यसले गर्दा मलाई लाग्छ कि नेपालमा स्थाई शान्ति सम्भव छ । यसले संकेतहरु देखाएको छ । त्यसले गर्दा खेरी पनि विभिन्न देशको डेमोक्रेशि पनि त्यहाँको अवस्था त्यहाँको स्थिति भौगोलिक सांस्कृतिक धेरै कुराहरुको खयाल गर्दै डेमोक्रेशि अगाडी बढ्नु पर्छ जस्तो मलाई लाग्छ र यो निर्णय गर्ने जनता भनेको सार्वभौम शक्ति भनेको जनता नै हो र जनताको जनचाहना अनुसार डेमोक्रेशि अलिकति विभिन्न देशहरुमा फरक हुन सक्दछ तर प्रजातन्त्र भनेको आजको युगमा नभई नहुने मान्छेको जिवन यापनको लागि विकाशको लागि, त्यसकारणले यो जरुरी देखिएको छ र यो कुराहरु अहिले जहाँ राजतन्त्र थियो जहाँ निरकुंश शासन सत्ता चलिरहेको थियो त्यहाँ पनि उथल पुथल देखिन थालेको छ र विस्तारै त्यहाको जनताहरु पनि अगाडी बढ्दै गईरहेको छ । आफ्नो देशको स्थिति अनुसार र अनुकुलतालाई ध्यानमा राखेर प्रतिकुलता संग जुज्धै अगाडी बढ्नु पर्छ ।
माननीयज्यू, प्रजातन्त्रको स्थायित्व मानव अधिकारको सिद्धान्त समानताको सिद्धान्त तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतामा आधारित हुन्छ । नेपालको परिप्रेक्षमा यि आधारभूत आवश्यकताहरुको परिपूर्ति नभए सम्म प्रजातन्त्रले स्थाईत्व पाउन सक्ला ?
यि कुराहरु प्रजातन्त्रको लागि आवश्यक कुराहरु हुन् मानव अधिकार लेख्ने बोल्ने देखि लिएर प्रेस स्वतन्त्रता अभिव्यक्तिको स्वतन्त्रता खास गरेर नागरिकको मौलिख हक अधिकारको ग्यारेन्टि यि सबै कुरा त प्रजातन्त्रमा आवश्यक नै छ त्यो हुनु नै पर्छ । हाम्रो देशमा यि सबै कुरा हुँदा हुँदै पनि अहिलेको अभ्यासबाट के देखियो भने अहिले जुन माओवादी विद्रोह भयो अनि हत्या हिंसा भयो धेरै गढबढीहरु भयो त्यसले गर्दा के देखिएको छ भने यसले समावेशि लोकतन्त्रको कुरा अहिले राजनैतिक वृत्तबाट चर्को रुपमा उठेको छ र जनताहरुले पनि यो कुरा उठाएका छन् । त्यसकारणले यसलाई महिला दलित जनजति मधेर र पहाडी दूर्गम क्षेत्रका समश्याहरु यस्लाई सकभर समावेशि प्रजातन्त्र अथवा समावेशि लोकतन्त्रको अवधारणा अनुसार अहिले ति कार्यहरु विभिन्न राजनितिज्ञहरुले यि कुरा ल्याउदै छन् । त्यसकारण मलाई लाग्छ यि सम्पूर्ण समस्याहरुलाई दूर गर्ने हिसावले संविधान आयो भने यसले हाम्रो धेरै उपलब्ध हुने छ र यसले प्रजातन्त्र बलियो हुन्छ ।
प्रतिनिधि सभा विगठन भए देखि राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हालैको जनआन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना गरेता पनि राष्ट्रिय सभा भने अझै निष्कृय नै रहेको देखिन्छ । हाल नेपालको बदलिन्दो राजनैतिक अवस्थामा राष्ट्रिय सभाको भूमिका कस्तो देख्नुभएको छ ?
पहिलेको हाम्रो जुन संविधान थियो त्यस्मा दुई सदनात्मक व्यवस्था गरिएको थियो राष्ट्रिय सभा र प्रतिनिधि सभा । विगतमा प्रतिनिधि सभा भंग भयो र राष्ट्रिय सभा एउटा स्थाई सदन भएको हुनाले अहिले पनि छ । अहिले त प्रतिनिधि सभा पनि पुनर्वहाली भईसकेको अवस्था छ । यो राष्ट्रिय सभालाई कृयाशिल गरौ भन्ने धेरै कोणबाट आवाजहरु आयो हामीले नै उठायौ यहाँ सम्म कि हामी राष्ट्रिय सभाका वहालवाला सांसद भएपनि रोडमा नै हामीले संसदको बैठक बस्यौ र जनताको अधिकारको लागि हामीहरु आन्दोलित भएका थियौ । यस्मा एउटा मुद्दा यो पनि थियो । तर यहाँ धेरै कारणहरुले गर्दा खेरी त्यो सम्भव भएन । एउटा के भो भने माओवादी समस्या पनि देखा पर्यो र यो आन्दोलन पनि चर्किदै गयो र सम्पूर्ण ध्यान केन्द्रित प्रतिनिधि सभालाई पुनर्वहाली गर्ने तिर केन्द्रित भएको हुनाले राष्ट्रिय सभा अलि उपेक्षित रुपमा रह्यो र पहिलेको जुन संविधान थियो त्यसमा संवैधानिक संकट एउटा के थियो भने प्रतिनिधि सभा संगसंगै राष्ट्रिय सभाको बैठक बस्ने प्रावधान भएको हुनाले यो एउटा समस्याको रुपमा देखियो । अहिले यस्तो घडीमा आईपुगेका छौ कि अन्तरव्यवस्थापिकाको सोच आउदै छ । जति यो माओवादी र सात दलको विचको वार्ता सफल हुनुमा निर्भर छ । त्यसले गर्दा अब यो अन्तरव्यवस्थापिकाको कुरा भएको हुनाले राष्ट्रिय सभा तथा प्रतिनिधि सभालाई भंग गरेर अन्तरव्यवस्थापिकाको धारणा भएकोले बैठक गराईरहनुपर्ने आवश्यकता पनि छैन ।
माननीयजू, एक प्रखर राजनितिज्ञ तथा प्रजातान्त्रिक पद्धतिका श्रेस्ता हुनुभएको हिसावले हालको अवस्थामा प्रतिनिधि सभाका प्रमुख सात दल नै सरकारमा रहदा प्रतिनिधि सभामा विपक्ष दलको अभाव खड्कीएको छ । उस्मा यहाँको के सोचाई छ ?
विपक्षको अभाव अलि खड्कीएको छ । अहिलेको विशेष परिस्थिति भएको ले गर्दा पनि हो । पार्लियामेन्टमा अहिले विपक्ष देखिएको वाहिर वसेको, पार्लियामेन्टमा छैन वाहिर वसेको माओवादी नै हो । यो विशेष परिस्थिति भयो र अहिले संकटलाई दूर गर्नको लागि र शान्ति वहाल गर्ने र अन्तरिम सरकारको गठन संविधान सभामा जानुपर्ने भएको हुनाले अहिले जनताको हितमा बढी भन्दा बढी प्रतिनिधि सभाले निर्णय गर्दै अगाडी बढेको छ । यसमा विपक्षमा त्यही भित्रैबाट पनि आवाजहरु आउनु स्वभाविकै पनि हो तर अहिले प्रतिनिधि सभा वहुत गम्भिरताका साथ आउने चुनौतिहरुलाई सामना गर्दै लोकतन्त्रलाई अझ मजबुत वनाएर माओवादी समस्यालाई दूर गर्ने हिसावले नै यो अगाडी बढीरहेको छ ।
माननीयज्यू, अहिले नेपालमा चलिरहेको शान्ति वार्ताको भविष्य कस्तो देख्नुभएको छ ?
एकदम उज्वल छ ।
कहिलेसम्म सकिएला ?
यो तिथिमिति त नटोकौ । हाम्रा अग्रजहरुले वार्ता टोलीका अगुवाहरुले जुन भनिरहनुभएको छ कार्तिक मसान्त भित्र हाम्रो यो शान्ति वार्ता सफल हुन्छ र तुरुन्त अन्तरिम सरकार पनि बन्छ र सिधै संविधान सभाको लागि जेष्ठ सम्मको मिति नै तोकिसक्नुभयो । त्यसले गर्दा मलाई पनि लाग्छ जसरी यो प्रोसेस गईरहेको छ र भर्खरै फेरी शान्तिवार्ता प्रारम्भ पनि भईसकेको छ । अत मलाई लाग्दैन कि यस्को निकास हुँदैन देशले निकाश पाउने छ र शान्ति आउने छ र सबै राजनैतिक पार्टि माओवादी समेत मुलधारमा आउने छन् र त्यसपछि अगाडी बढ्ने छ ।
अन्तमा माननीयज्यू, कतार लगायत मध्यपूर्वमा कार्यरत नेपालीहरुलाई केही सन्देश दिनुहुन्छ की ?
हामी नेपालीहरु गरिव भयौ हाम्रो देश गरिव भयो । धेरै कारणहरुले गर्दा हामी पछाडी परेका छौ । त्यसकारण खुशीले विदेश गएका होईनन् । वहाँहरु धेरै दुःख र केही आय आर्जन गर्ने खुशी जिवन विताउनको लागि वा आफ्नै देशका आफ्ना छोराछोरीलाई भरथेक गर्नको लागि वाध्यतावश यहाँ नोकरी गर्न आउनुभएको छ । कोही लेवरको काम गर्नुहुन्छ कोही होटलमा कोही रेष्टूरेन्टमा कोही सडकमा धेरै कामहरु वहाँहरु गरिरहनुभएको छ । मलाई के लाग्छ भने वहाँहरु जहाँ वस्नुहुन्छ वहाँहरुले ईमान्दार भएरनै काम गर्नुपर्छ । देश विदेशका धेरै कुलतहरु छन्, विदेशिका नराम्रा कुराहरु छोड्दै यहाँ भएका राम्रा र असल पक्षहरु हामीले ग्रहण गर्नुपर्छ र हामीले जुन ठाउँका बसिरहेका छौ त्यो ठाउँका हामीले ईमान्दारीका साथ काम गर्ने र आफ्नो देशलाई नेपाललाई माया गर्न नछाड्ने र आफ्नो देशको बारेमा पनि बढी चिन्तित भएर ध्यान पर्याउने भन्ने आशा राखेको छु ।
धन्यवाद माननीयजू यहाँको वस्त समय तालिकाका बावजुद पनि हामीलाई केही समय दिनुभएकोमा हामी आभार प्रकट गर्दछौ ।
तपाईलाई पनि धेरै धन्यवाद छ । अब यो कतारको दोहा भन्ने ठाउँमा आएर तपाईसंग दुईचार कुरा यहाँहरुले जुन गर्नुभयो र मलाई अवसर दिनुभयो त्यसको लागि धन्यवाद छ ।
